सर्वोच्चमा केही दिन सुनुवाइ स्थगित हुने अवस्था देखियो : बार एसोसिएसन 

सर्वोच्चमा केही दिन सुनुवाइ स्थगित हुने अवस्था देखियो : बार एसोसिएसन 

काठमाडौँ : नेपाल बार एसोसिएसनले न्यायपालिकाको समग्र सुधारका अभियान सुरु गर्दा केही दिन पेशी सुनुवाइ स्थगित हुन सक्ने अवस्था देखिएको जनाएको छ।

अनपेक्षित तर अनिवार्य परिस्थिति सिर्जना भएकोले न्यायका उपभोक्ता तथा समस्त सेवाग्राहीहरूमा पर्न जाने असुविधाका लागि बार एसोसिएसनले क्षमा मागेको छ। 

बारका महासचिव लीलामणि पौडेलले विज्ञप्ति निकालेर केही दिन धैर्य धारण गरी न्यायिक सुधारका कार्यमा सहयोग पुर्याउन अनुरोध गरेका छन्। 

‘नेपाल बारले न्यायपालिकाको सुधारका लागि पटक–पटक  सर्वोच्च अदालत, प्रधान न्यायाधीश र न्याय परिषद्को ध्यानाकर्षण गराई आइरहेकोमा सुधारको सकारात्मक सन्देश नआएको र विकृति, विसङ्गति तथा न्यायिक विचलन कायमै रहेको, प्रधान न्यायाधीशज्यूले सहकर्मी न्यायाधीशको विश्वास लिन नसकेको लगायतका समग्र वस्तुस्थितिको मूल्याङ्कन गरी कार्तिक ९ गते प्रधान न्यायाधीशज्यूको राजीनामा माग गरेको र केही दिनदेखि सर्वोच्च अदालतमा मुद्दाका सुनुवाइहरू प्रभावित हुन पुगेका छन्,’विज्ञप्तिमा लेखिएको छ,‘यसबाट सर्वोच्च अदालतका सेवाग्राहीहरूलाई केही असुविधा पर्न गएको कुरामा हामी जानकार छौँ।’  

न्यायपालिकामा विगत केही वर्षदेखि विकृति, विसङ्गति बढ्दै गएको, सबैलाई समान, सहज र निष्पक्ष न्याय प्राप्त नभएको विषय गम्भीर चासो र सरोकारको विषयलाई सम्बोधन गरी, सुधारका कार्य थालनी गर्न प्रधान न्यायाधीशबाट राजीनामा दिई निकास दिन बार एसोसिएसनले माग गरेको छ।

 

कात्तिक १०, २०७८ बुधबार १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।