सर्वाेच्चमा प्रधानन्यायाधीशको एकल इजलासमा मात्र सुनुवाइ सुरु  

सर्वाेच्चमा प्रधानन्यायाधीशको एकल इजलासमा मात्र सुनुवाइ सुरु  

काठमाडाैंः सर्वाेच्च अदालतमा बुधबारका लागि प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले ११ वटा इजलास तोकेका छन्। तीमध्ये उनले आफूसहित पाँच न्यायाधीशको एउटा संवैधानिक इजलास पनि तोकेका छन्।

राणाले वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठसहितकाे संवैधानिक इजलास तोकेका हुन्।

त्यस्तै राणाले आफ्नो एकल इजलास पनि तोकेका छन्। हाल सर्वाेच्चमा राणाकाे एकल इजलासमा मात्र सुनुवाइ भएकाे छ। 

अन्य न्यायाधीशहरूका लागि उनले नौ वटा इजलासमा पेसी तोकेका छन्। न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई,  वमकुमार श्रेष्ठ र कुमार चुडाल , टंकबहादुर मोक्तान र कुमार रेग्मीकाे इजलासमा उनले पेसी ताेके पनि सुनुवाइ भएकाे छैन।

त्यस्तै प्रधानन्यायाधीश राणाले प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलास पनि तोकेका छन्।

सर्वोच्चका १५ न्यायाधीशहरु हाल प्रधानन्याधीश राणाको राजीनामाको पक्षमा छन्। राणाले भने सर्वोच्चमा आफू एक्लो भए पनि राजीनामा नदिने बताएका छन्। उनले हिजाे छलफलका क्रममा संवैधानिक बाटोबाट आएकाे हुँदा सडककाे आवाजकाे भरमा राजीनामा नदिने बताएका थिए। 

कात्तिक १०, २०७८ बुधबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।