स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु
महोत्तरीः जिल्लाकाे जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको मरिन गाउँपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन्।
जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो। गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
भुजेलको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ। स्कुटरमा सवार नाम नखुलेका दुई जना समेत घाइते भएका छन्।
कात्तिक १०, २०७८ बुधबार ०९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।