सर्वोच्चका कर्मचारी सङ्गठनले दिए आन्दोलनको चेतावनी
काठमाडौँ : सर्वोच्च अदालतका कर्मचारी सङ्घ/सङ्गठनले अदालतभित्र देखिएका विकृति विसङ्गतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरू जिम्मेवार भई समाधान गर्न माग गर्दै त्यसो नगरीय आन्दोलनको चेतावनी दिएका छन्।
सर्वोच्च अदालत आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी युनियन, सर्वोच्च र नेपाल निजामती कर्मचारी सङ्गठनले संयुक्त विज्ञप्तिमार्फत न्यायपालिकाको स्वतन्त्रताको रक्षाका लागि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन्।
उनीहरूले न्यायपालिकामाथि चौतर्फी आक्रमण भइरहेको र न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण राखी जनआस्था अभिवृद्धि गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्न सर्वोच्च अदालतमा कार्यरत ट्रेड युनियनहरूले रचनात्मक एवं सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गरेका छन्।
अशोभनीय गतिविधिले न्यायालय थप सङ्कटतर्फ जाने भएको बताउँदै उनीहरूले अदालतभित्र देखिएका विकृति विसङ्गतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरू जिम्मेवार भई गम्भीरतापूर्वक अविलम्ब समुचित समाधान गर्न जोडदार माग गरेका छन्।
'अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछौँ,’ विज्ञप्तिमा भनिएको छ।
कात्तिक ९, २०७८ मंगलबार १५:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।