प्रधानन्यायाधीशसँग चिढिए न्यायाधीश, इजलास नै बस्न सकेन
काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग न्यायाधीशहरू झन् चिढिएका छन्।
उनीहरूले प्रधानन्यायाधीशको राजीनामा नै पहिलो सर्त बनाउने निष्कर्ष निकालेका छन्। प्रधानन्यायाधीश राणाले प्रश्न उठेका र विवादमा परेका न्यायाधीशहरुलाई राजीनामा दिन भनेका थिए।
राणाको राजीनामा माग्न गएका न्यायाधीशहरूकै राजीनामा मागेपछि उनीहरूले राणालाई राजीनामा नै पहिलो सर्त बनाउने निष्कर्ष निकालेको एक न्यायाधीशले बताए। न्यायालयको स्वतन्त्रता जोगाउन भन्दै १५ जना न्यायाधीशले राणालाई भेटेर मार्ग प्रशस्त गर्न भनेका थिए।
राणाले केही प्रायोजित सञ्चारमाध्यम र सडकको मागका आधारमा राजीनामा नदिने जवाफ दिएका थिए। राणाको जवाफपछि बसेका न्यायाधीशहरुले न्यायालयको स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीशको राजीनामा नै उत्तम उपाय भएको निष्कर्ष निकालेको ती न्यायाधीशले बताए।
न्यायाधीशहरुले भोलि बिहान साढे ११ बजे पुन छलफल गर्ने भनेका छन्। प्रधानन्यायाधीश इजलासमा मुद्दाको पेसी तोक्ने र न्यायाधीशहरू इजलासमै नबस्दा सोमबारदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन। इजलास नै बस्न नसकेको सर्वोच्च अदालतले जनाएको छ।
कात्तिक ९, २०७८ मंगलबार १५:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।