कार्यालयमा यौन हिंसा गरेको आरोपीलाई निगम अध्यक्षको जिम्मेवारी
काठमाडौँ : सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको युवराज अधिकारी कार्यालयका महिला कर्मचारीमाथि यौन हिंसा गरेको आरोपित भएको खुलेको छ।
निगमका तत्कालीन अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
अधिकारीविरुद्ध निगमको महिला कर्मचारीले चार वर्ष अगाडि कार्यालयमा यौनजन्य हिंसा गरेको भन्दै उजुरी गरेका थिए। उनले अब त्यस्तो गर्दिन भन्दै लिखित माफी मागेपछि सहमति भएको थियो।
उनी निगममा अर्थ निर्देशक पदमा कार्यरत रहेको बेलामा आफूहरूमाथि यौनजन्य हिंसा गरेको भन्दै महिला कर्मचारीहरूले निगम र राष्ट्रिय महिला आयोगमा उजुरी दिएका थिए।
उजुरीमा कार्यालयमा एकान्तमा बोलाउने, कति राम्री भन्दै शरीरको संवेदनशील अङ्गमा छुने, अधिकारको दुरुपयोग गरेर यौनजन्य हिंसा गर्ने, जाउँ म सँग रमाइलो गरौँ, मोज गर्नुपर्छ भनेर यौनजन्य हिंसा गर्ने गरेको उल्लेख थियो।
कार्यालयमा दिएको निवेदनको सुनुवाइ नभएपछि पीडित कर्मचारीले
महिला आयोगमा २०७४ भदौ २७ मा उजुरी परेको थियो। त्यसको २ महिनापछि कात्तिक ६ गते निगमका तत्कालीन पदाधिकारीको रोहवरमा दुवै पक्षबिच छलफल गराएर अधिकारीले लिखित माफी मागेसँगै सो विषयमा कतै उजुरी नगर्ने सहमति भएको थियो।
उकेरालाई प्राप्त सहमति पत्रमा कार्यस्थलमा भएको गम्भीर प्रकृतिको यौन हिंसामा मिलापत्र गराउन अर्थ, मानव संसाधन विभाग र ट्रेड युनियनका प्रतिनिधि रोहवरमा बसेको देखिन्छ। पर्यटन मन्त्रालय एकीकृत समाजवादीले पाएको छ। हाल प्रेम आले मन्त्री छन्।
कात्तिक ८, २०७८ सोमबार २३:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।