कांग्रेसको निर्वाचन समितिले पार्टी पदाधिकारीसँग छलफल गर्ने
काठमाडौँ : नेपाली कांग्रेसको १४ औंं महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएको निर्वाचन समितिले भोलि पार्टी पदाधिकारीहरूसँग छलफल गर्ने भएको छ।
महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन हुन नसकेका १३ जिल्लाको अधिवेशनको मितिबारे भोलि पार्टी पदाधिकारीहरूसँग छलफल गर्ने निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए।
वडा अधिवेशन हुन नसकेका १३ मध्ये ११ जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लागेको संयोजक यादवले बताए। रौतहट र रसुवाको क्रियाशील सदस्यता टुङ्गो लागेको छैन।
क्रियाशील सदस्यता टुङ्गो लागेका जिल्लामा तिहार अगाडि या छठ पछाडि वडा अधिवेशन गर्ने भनेर पार्टी पदाधिकारीसँग छलफल गर्न लागेको उनले बताए।
सदस्यता विवाद टुङ्गो नलागेका रौतहट र रसुवाको अधिवेशनबारे पनि पदाधिकारीसँग छलफल हुने यादवले बताए। भोलि छलफल गर्ने भने पनि समय निश्चित नभएको उनले बताए। ‘पार्टी कार्यालयका मुख्य सचिवले बोलाउँछु भन्नु भएको छ,’यादवले उकेरासँग भने,‘छलफल हुने समय निश्चित छैन।’
कात्तिक ८, २०७८ सोमबार २१:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।