प्रहरी र सशस्त्रको राशन १५ प्रतिशत बढाउने मन्त्रिपरिषद्को निर्णय

प्रहरी र सशस्त्रको राशन १५ प्रतिशत बढाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दररेट बढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सुरक्षा सङ्गठनको सदस्यको राशनको दररेट  १५ प्रतिशतले बढाउने निर्णय गरेको हो।

प्रहरी र सशस्त्रको रासन दररेट पाँच वर्षदेखि बढेको थिएन। सरकारले आर्थिक वर्ष २०७८-०७९ को बजेटमा सुरक्षाकर्मीको रासन भत्ता बढाउने उल्लेख थियो।

२०७२ माघपछि भत्ता नबढेको भन्दै दुवै सुरक्षा सङ्गठनले राशन दररेट ५० प्रतिशत बढाउनुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाए पनि सरकार १५ प्रतिशत बढाउन राजी भएको थियो।

प्रहरीमा करिब ८० हजार दरबन्दी छ। करिब १० हजार दरबन्दी रिक्त छ। सशस्त्रमा करिब ३७ हजार जनशक्ति छ। राशनमा अनियमितता भएको गुनासो बढेपछि दुवै सङ्गठनका सदस्यलाई सरकारले सिधै नगद दिने व्यवस्था गरेको थियो।

कात्तिक ८, २०७८ सोमबार १९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।