प्रदेश १ मा बाढी पहिरो : ६६ जनाको मृत्यु
काठमाडौँ : बाढी पहिरोमा परेर प्रदेश १ मा ६६ जनाको मृत्यु भएको छ। पाँचथरमा पहिरोले ३० जनाको मृत्यु भएको छ।
इलाममा १४ जना, सुनसरीमा १० जना, धनकुटामा ७ जनाको पहिरोमा परेर मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
प्रदेश १ कै उदयपुरमा बाढीले बगाउँदा २ जना, सोलुखुम्बुमा १ जना, भोजपुरमा १ जना र मोरङमा १ जनाको मृत्यु भएको छ।
यस्तै ९ जना बेपत्ता, १८ जना घाइते र १५ घरमा पूर्ण क्षति भएको मन्त्रालयले जनाएको छ।
प्रदेश २ को सप्तरीमा बाढीले बगाउँदा १ जना बेपत्ता भएका छन् भने बागमती प्रदेशको सिन्धुलीमा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ।
लुम्बिनीको प्युठानमा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्।
कर्णाली प्रदेशमा बाढी पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ। कालिकोटमा पहिरोमा परी १ जना र हुम्लामा ६ जनाको मृत्यु भएको छ। सल्यानमा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेशमा १ जना बेपत्ता, १ जना घाइते र २ वटा घर पूर्ण रूपमा क्षति भएको छ।
यस्तै सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ। डोटीमा मात्रै १६ जनाको पहिरोमा परेर मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। बझाङमा बाढीले बगाउँदा १० जनाको मृत्यु भएको छ। बैतडीमा पहिरोमा परेर ४ जना, डडेलधुरामा २ जना, कैलालीमा बाढीले बगाउँदा १ जना र अछाममा १ जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोमा परेर ३३ जना बेपत्ता भएका छन्। ३२ जना घाइते भएका छन्। २ वटा घरमा आंशिक र ५४ वटा घरमा पूर्ण क्षति भएको छ।
कात्तिक ६, २०७८ शनिबार १२:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।