बाढी पहिरोमा परी १११ जनाको मृत्यु, ३३ जना अझै बेपत्ता
काठमाडौं : देशभर बाढी पहिरोमा परेर १११ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार अझै ३३ जना बेपत्ता भएका छन्।
३२ जना घाइते भएका छन् भने ७१ वटा घर भत्केका केन्द्रले जनाएको छ। पाँचथरको विभिन्न ठाउँमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जना मध्ये २ जनाको शव फेला परेको छ।
फाल्गुनन्द गाउँपालिकाका ८ वर्षका मितोक चेम्जोङ र फिदिम नगरपालिका बस्ने २२ वर्षकी सम्पदा आलेको शव फेला परेको केन्द्रले जानकारी दिएको छ।
यस्तै खोलाले बगाएर बेपत्ता भएकी अछामको ढकारी गाउँपालिका नवागाउँ बस्ने ७ वर्षकी मैसरा थापाको शव मङ्गलसेन नगरपालिका आठडाँडा भन्ने ठाउँमा फेला परेको छ।
यस्तै खोला तर्ने क्रममा बेपत्ता भएका बझाङको छबिसपाथिभेराका लक्ष्मण कडायतको शव फेला परेको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार बझाङको थलरा गाउँपालिका डिक्लामा पहिरोले ७ घर पुरिदा बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म ३ जनाको मात्र शव फेला परेको छ।
कात्तिक ६, २०७८ शनिबार ०९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।