विवादकाविच आज एमालेको वडा अधिवेशन
काठमाडौँ : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिवार वडा तहको अधिवेशन सुरु हुँदैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको भर्चुअल उद्घाटन गर्दैछन्।
सबै जिल्लामा वडा तहको अधिवेशनको तयारी पूरा भए पनि हालैको बाढी तथा पहिरोका कारण प्रभावित भएका जिल्लाहरूमा केही समयपछि अधिवेशन हुने एमालेले जनाएको छ।
वडा अधिवेशनपछि पालिका अधिवेशन हुनेछ। एमालेको राष्ट्रिय महाधिवेशन अन्तर्गत कात्तिक ९ का लागि पालिका तहको अधिवेशन तोकिएको छ।
चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १० औँ महाधिवेशन हुँदैछ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
यता पार्टीमा १० बुँदे सहमति कार्यान्वयनको विवाद बल्झिएको छ। भीम रावल लगायतका नेता १० बुँदे कार्यान्वयन गरेर मात्र वडा अधिवेशन अगाडि बढाउने पक्षमा देखिएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको औचित्य नभएको बताएपछि रावलले १० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामाको घोषणा गरेका थिए।
कात्तिक ६, २०७८ शनिबार ०७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।