सुरक्षा संगठनका सदस्यलाई तँ नभन्न गृहमन्त्रीको निर्देशन
काठमाडौं : जुनियर प्रहरी कर्मचारीलाई सम्बोधन गर्दा तँ नभनी सम्मानार्थ शब्दबाट सम्बोधन गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन्।
सुरक्षा संगठनमा हवल्दार, सिपाही र फलोअर्सलाई प्राय तँ भनेर बोलाउने गरिन्छ। गृहमन्त्रीले प्रहरी, सशस्त्र र अनुसन्धान विभागका नेतृत्वलाई बोलाएर बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएको गृहमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजिपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल रहेको बैठकमा शुक्रबार निर्देशन दिएका हुन्।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन्। खाँणले अब सम्मानसहितको सेवा सञ्चालन गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ।
कात्तिक ५, २०७८ शुक्रबार १२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।