स्थानीय सरकारले अभिभावकत्व निर्वाह गर्न नसकेकाे भन्दै कांग्रेसले थाल्याे बाढी पीडितकाे घरमा पुग्ने अभियान
इटहरीः नेपाली कांग्रेस इटहरीले बाढी पीडितको घरमा पुगेर समस्या बुझ्ने अभियान थालेकाे छ। मंगलबारको बाढी र डुबानबाट पीडित परिवारलाई भेटेरै समस्या बुझ्ने र समाधानको लागी पहल गर्ने बाचासहित अभियान थालिएकाे हाे।
इटहरी उपमहानगरका २० वटै वडाका बाढी पीडितलाई भेट्ने कांग्रेसको कार्यक्रम रहेकाे छ। स्थानीय सरकारले अभिभावकत्व निर्वाह गर्न नसकेको भन्दै आफूहरू अग्रसर भएको कांग्रेस नगर सभापति हेमकर्ण पौडेलले बताए।
स्थानीय तह र सराेकारवाला निकायसँग समन्वय गर्न आफूहरू तयार रहेकाे उनले बताए। “कुन दललाई मत हाल्नुहुन्छ महत्त्वको विषय हैन। हामी दुखेको घाउमा मल्हम लगाउन आएका हौँ”, पीडितसँगकाे भेटमा उनले भने। उनले इटहरी-१३ का महेश सरदारको भत्किएको घर पुनःनिर्माण गरिदिने बाचा गरेका छन्।
यस्तै इटहरीका अर्का नेता विकास केसीले पनि बाढी पीडितलाई भेटेर आवश्यक सहयोग गर्ने बाचा गरेका छन्। विपत्तिको घड़ीमा तेरो मेरो नभनि सम्पूर्ण नेपाली जनता एक अर्काको साथ सहयोगी बन्न उनले अनुरोध गरेका छन्।
उता मृतकका परिवारलाई इटहरी उपमहानगरपालिकाले तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने भएकाे छ। बुधबार बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक र कर्मचारीको ७ दिनको तलब राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
कात्तिक ५, २०७८ शुक्रबार ०८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।