पीडितको उद्धार तथा राहतमा संलग्न हुन राष्ट्रपतिको आव्हान
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण राजनीतिक दल, सामाजिक सङ्घसंस्था र समुदायलाई बाढी पहिरो पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन आव्हान गरेकी छन्।
बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा संलग्न हुन आव्हान गरेकी हुन्।
प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले प्रकोपबाट कृषि क्षेत्र खास गरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गरेको उल्लेख छ।
राष्ट्रपति भण्डारीले प्रकोप पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र बेपत्ता भएकाहरूको खोजी कार्यमा राज्यका संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्ने विश्वास व्यक्त गरेकी छन्।
कात्तिक ४, २०७८ बिहीबार २१:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।