कर्णालीको अवस्था बुझेर सुदूरपश्चिम गए प्रधानमन्त्री देउवा
सुर्खेतः प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो र वर्षाले कर्णाली प्रदेशमा पुर्याएको क्षतिको अवस्था बुझेर सुदूरपश्चिम प्रदेशतर्फ लागेका छन्। प्रदेश सरकार र सुरक्षा निकायसँग कर्णालीका अवस्था बुझेपछि प्रधानमन्त्री देउवाले बेमौसमी बाढी र पहिरोले देशभर पुर्याएको क्षतिप्रति आफू दुःखी भएको बताएका थिए।
प्रधानमन्त्री देउवाले क्षति पुगेका नागरिकहरूलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए।
‘जलवायु परिवर्तनका कारण यति ठूलो महाविपत्तिले क्षति पुगेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘बाढी र पहिरोबाट प्रभावित नागरिकहरूलाई सरकारले राहत उपलब्ध गराउन निर्णय गरिसकेकाे छ।’
देउवाले सुदूरपश्चिमसहित देशका अन्य ठाउँहरूमा पनि क्षति पुगेको बताउँदै ती ठाउँहरूको निरीक्षण गरेर थप राहत र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे।
देउवा सुर्खेत विमानस्थलमा करिब आधा घण्टा रोकिएका थिए। प्रधानमन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्का र सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री लगायतका विभागीय मन्त्रीहरूसँग समेत गोप्य छलफल गरेका थिए।
प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद आएका थिए।
कात्तिक ४, २०७८ बिहीबार १२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।