सेनाकाे विवरण : डुबानमा फसेका ६० जनाको सुरक्षित उद्धार
डुबानमा परेको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८, ९ र १० तथा भिमदत्त नगरपालिका वडा नम्बर ११ र १२ मा बसोबास गर्ने स्थानीयवासी तथा खाद्यान्नलगायतका सामग्रीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको सेनाले जनाएको छ।
सेनाले कर्णाली नदीमा आएको बाढीका कारण कालिकोट जिल्ला स्थित लालिघाट र जितेगडा बजार इलाकामा रहेका केही पसलहरूमा क्षति पुगेकोले पसलमा रहेका सामग्रीहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको जनाएको छ।
महाबै गाउँपालिका वडा नम्बर राम्नी इलाकामा पहिरोका कारण १ घर पुरिएको तथा करिब ६० घरधुरीका २५० देखि ३०० जना स्थानीय जोखिममा रहेको हुँदा उद्धार कार्यमा नेपाली सेना परिचालन भएको छ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ४ मा पहिरो गई स्थानीय व्यक्तिको घरमा क्षति पुगेकोले उक्त पहिरो पन्छाई घर नजिकै रहेको रिट्ठाको रुख ढल्ने जोखिममा रहेकोले उक्त रुख काट्न सहयोग गरेको जनसम्पर्क निर्देशनालयले जनाएको छ।
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ स्थित पणेश इलाकामा पहिरो गई स्थानीयको घरहरूलगायत माछा पोखरी तथा कुखुरा फर्म जोखिममा रहेकोले उक्त घरहरूमा रहेका सामानहरू तथा पशुपंक्षिहरु सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ स्थित भातकाडा इलाकामा पहिरोका कारणले स्थानीय व्यक्तिहरूको घर पुरिएको हुँदा उद्धार कार्यमा खटिएको टोलीहरूले घाइतेहरूलाई अस्पताल लगेका छन्।
कैलालीको टिकापुर नगरपालिकामा कर्णाली नदीले तीव्र रूपमा कटान सुरु गरेकोले कटानलाई तत्काल रोक्न तटबन्ध मर्मत तथा उद्धार कार्य गरेको नेपाली सेनाले जनाएको छ।
सेनाले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १, २ र ३ का डुबानबाट प्रभावित इलाकाहरूमा उद्धार कार्य गरेको उल्लेख गरेको छ।
डोटी जिल्ला, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४, ५ र ६ मा पहिरो तथा अविरल वर्षाका कारण स्थानीयको घर भत्किएको हुँदा पुरिएका घरहरूमा रहेका खाद्यान्न, लता कपडालगायत अन्य सामानहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग गरेको जनाएको छ।
सेनाका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका, तरहरा, पानी पिया इलाकामा डुबानमा फसेको हुँदा फसेका ५ जना व्यक्तिहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ।
सेनाले मोरङको विराटनगर हिरियाटोल डुबानमा परेका करिब ५० जनाको उद्धार गरी सुरक्षित स्थानमा लगेको जनाएको छ।
पाँचथरको फिदिम नगरपालिका ४, जोरसाल इलाकामा पहिरोका कारण १ घर पुरिदा मृत्यु भएका २ जना मृतकको शव निकालिएको सेनाले जनाएको छ।
धनकुटाको चौबिसे गाउँपालिका वडा नम्बर १ मा पहिरोका कारण १ घर पुरिँदा ४ जना बेपत्ता भएकोमा ३ जनाको सकुशल उद्धार गरी बाँकी १ जनाको खोजी कार्य गरिरहेको सेनाले जनाएको छ।
कात्तिक ३, २०७८ बुधबार १६:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।