इलाममा रुखले किचेर, खोलाले बगाएर र पहिरोमा परेर १३ जनाको मृत्यु 

इलाममा रुखले किचेर, खोलाले बगाएर र पहिरोमा परेर १३ जनाको मृत्यु 
फाइल तस्बिर

इलाम : इलाममा बाढी पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ। इलामको फाकथोकमा ६ जना, माङसेदुनमा २ जना, सूर्योदय नगरपालिकामा ३ जना, देउमाईमा १ जना र माईमा १ जना गरी १३ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। 

एक जनालाई खोलाले बगाएको र एक जनाको रुखले किचेर मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले जानकारी दिए। चापागाईँका अनुसार मृत्यु हुनेमा कविता राई, हरिप्रसाद राई, आइतबहादुर लिम्बु, विमा शेर्मा लाउती, नैनासिंह कटवाल, निशान कटवाल, निश्चित कटवाल, रन्जता कटवाल, विष्णु तामाङ, विशाल तामाङ, नारायण देवी मोटे, सरिता आचार्य र तेजमाया राई छन्। 

चापागाईँका अनुसार सरिताको खोलाले बगाएर मृत्यु भएको हो भने तेजमायाको रुखले किचेर मृत्यु भएको हो। उनले लगातारको वर्षाका कारण भएको जनधनको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए। ‘बिहान १० बजेदेखि पानी पर्न रोकिएको छ,’चापागाईँले उकेरासँग भने,‘अवरुद्ध सडक खुलाउने र बाढी पहिरोमा परेकाहरूको उद्धार गर्ने काम भइरहेको छ।’

कात्तिक ३, २०७८ बुधबार १५:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।