पार्किङ विवादमा हत्या गरेर लुकेका आरोपी १७ वर्षपछि पक्राउ

पार्किङ विवादमा हत्या गरेर लुकेका आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौँ : पार्किङको विषयमा भएको विवादमा हत्या भएपछि १७ वर्षदेखि फरार रहेका शनि नरसिंह राणा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले राणालाई पक्राउ गरेको हो।

२०६१ पुस २२ मा पुतलीसडकमा रहेको एकता प्रेस छापाखानाका सञ्चालक खिम बहादुर सिवाकोटीको मोटरसाइकलमा आएका व्यक्तिहरूसँग  पार्किङको विषयमा सामान्य विवाद भएको थियो। विवादको क्रममा मोटरसाइकलमा आएकाहरूले हेलमेट, फलामको रड र चिया पकाउने भाँडोले हानेर भागेका थिए।

घाइते भएका सिवाकोटीलाई उपचारको लागी  वीर अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो। सो घटनाको अनुसन्धानकोक्रममा बा १६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल आएकाले कुटपिट गरेको खुले पनि सो घटनामा संलग्न कोही पक्राउ परेका थिएनन्।

सो घटनाको अनुसन्धान जारी राखेको प्रहरीले असोज १५ मा काठमाडौँको मैह्पीवाट राणालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेको छ। सो घटनामा अझैँ बा १६ प८६५४ नम्बरको मोटरसाइकल धनी ईश्वरी राणा र  सानो धने भन्ने धन बहादुर गुरुङ फरार छन्।

कात्तिक ३, २०७८ बुधबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।