पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

सिन्धुलीः मध्यपहाडी राजमार्गको सिन्धुली खण्डमा गएकाे पहिरोका कारण सडक अवरुद्ध भएको छ। गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्काेट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए। विभिन्न निकायसँग समन्यव गरेर सडक पुनःसञ्चालन गर्न प्रयत्न भइरहेको उनकाे भनाइ रहेको छ।

सडक मङ्गलबारदेखि अवरुद्ध हुँदा सवारी साधन तथा हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुरलगायतका जिल्लाबाट दशैं सकेर राजधानी फर्केका तथा दशैंको अन्तिम दिनमा आफन्तजनकोमा आशिर्वाद थाप्न हिँडेका यात्री वर्षाका कारण बीच बाटोमै अलपत्र परेका हुन्।

मङ्गलबार बिहानैदेखि सडक अवरूद्ध भए पनि लगातारको वर्षाका कारण सडक खुलाउन नसकिएको वडाध्यक्ष पुरुषोत्तम श्रेष्ठले बताए। 

मध्यपहाडी खुर्काेट–घुर्मी खण्डमा गएका आधा दर्जन बढी पहिरोका कारण यात्रा अनिश्चित बनेको स्थानीय गौरव कार्कीले जानकारी दिए।

कात्तिक ३, २०७८ बुधबार १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।