एमालेले महाधिवेशन प्रतिनिधि तिहारपछि मात्रै छनौट गर्ने
तिहारपछि पार्टी केन्द्रीय कमिटीको बैठक बसेर हरेक निर्वाचन क्षेत्रबाट छनौट हुने सङ्ख्या निर्धारण गर्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
वडा अधिवेशन र पालिका अधिवेशनबाट छनौट हुने प्रतिनिधिको सङ्ख्या तोक्ने काम पार्टीको जिल्ला कमिटीले गर्ने र केन्द्रीय प्रतिनिधिको सङ्ख्या तोक्ने निर्णय केन्द्रीय कमिटीले गर्ने तामाङले बताए।
एमालेको वडा अधिवेशन कार्तिक ६ गते हुँदैछ। अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट गर्ने तयारी भएको सचिव तामाङले जानकारी दिए।
‘वडा अधिवेशनको अध्यक्ष ओलीले बिहान साढे ११ बजे उद्घाटन गर्नुहुनेछ,’सचिव तामाङले उकेरासँग भने,‘अधिवेशन उद्घाटन पार्टी कार्यालय थापाथलीबाट हुनेछ।’
उनका अनुसार वडा कमिटी ३१ सदस्यीय निर्वाचित हुनेछ। वडा कमिटीले जिल्लाले तोकेको सङ्ख्या अनुसार प्रतिनिधि पनि छनौट गर्ने उनले बताए। कार्यालय सचिव तामाङका अनुसार वडाबाट चुनिएका प्रतिनिधिले पालिका तह र जिल्ला तहसम्म मतदान गर्न पाउनेछन्।
पालिका तहको अधिवेशन कार्तिक ९ गते हुनेछ। पालिकाको कमिटी पदाधिकारी र सदस्य गरेर ७१ सदस्यीय हुनेछ। जिल्ला कमिटी ७५ सदस्यीय हुने सचिव तामाङले बताए। उनले क्षेत्रीय समन्वय कमिटी पनि गठन हुने भए पनि सङ्ख्या तोक्न बाँकी रहेको बताए।
एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० गतेदेखि १३ गतेसम्म बुटवलमा हुँदैछ। एमालेको ९ औँ महाधिवेशन पनि बुटवलमै भएको थियो। बुटवल महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए।
अध्यक्षमा पराजित माधवकुमार नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन्। एमालेको ९ औँ महाधिवेशनपछि वरिष्ठ नेता रहेका झलनाथ खनाल पनि एकीकृत समाजवादीमा छन्।
कात्तिक २, २०७८ मंगलबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।