देशभरका नदीमा बढ्याे पानीकाे बहाव, कर्णालीले पार गर्याे सतर्कता तह
काठमाडाैंः पछिल्लाे तीन दिनयता परेकाे अविरल वर्षाका कारण देशभरका नदीमा पानीकाे बहाव बढेकाे छ। बंगालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय प्रणालीकाे संयुक्त प्रभावका कारण पछिल्लाे तीन दिनयता नेपालमा भीषण वर्षा भइरहेकाे छ।
बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र र हाेचा तथा डुवान हुने स्थानमा बसाेबास गर्ने स्थानीयलाई सचेत गराएकाे छ। कार्तिक ३ गतेसम्मै महाकाली,सेती र भेरी नदीमा बहाव उल्लेख्य रूपमा बढ्ने भएकाले सतर्कता अपनाउन अनुराेध गरिएकाे हाे।
यस्तै सुदूरपश्चिम प्रदेशको मध्यपहाड,चुरे र तराई हुँदै बग्ने स-साना नदीहरूमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पनि महाशाखाले जनाएकाे छ।
यस्तै केही समयअघि कैलालीस्थित कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको छ। कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरूले आज रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।
यता डोटीस्थित पश्चिम सेती नदी गोपाघाट जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ।
गए राति डडेलधुरास्थित महाकाली नदी पारीगाऊँ जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको थियाे। नदीकाे माथिल्लो भूभागमा लगातार वर्षा भईरहेकाले जलसतह थप बढ्नसक्ने अनुमान गरिएकाे छ।
कात्तिक २, २०७८ मंगलबार ०८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।