बनिबनाउ घरको नाममा साथीहरू दास बने: शहरी विकास मन्त्री झाँक्री

बनिबनाउ घरको नाममा साथीहरू दास बने: शहरी विकास मन्त्री झाँक्री

बुटवल: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीहरू दास बन्ने कोशिस गरेको बताएकी छिन्। 

हिजो गुल्मीको तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रिले जनतालाई धोका दिएर केही नेताहरू एमालेको घरमा दास बनेको आरोप लगाएकी हुन्। 

संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप थियो। एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद विघटन गर्ने प्रथाको आफूहरूले विरोध गरेको उनको भनाइ थियो। 

यही कारण ओलीको नजरमा आफूहरू नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिष्ट पार्टी स्थापना गरेको उनले बताइन्। 

आफूहरूले लगातार निर्वाचन जिते पनि उपलब्धि धेरै नभएकाले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन्। उनले पार्टी निर्माणको तीन महिने अभियान चलाउने र सो अवधिमा देशभरबाट कम्तिमा सात लाख संगठित सदस्य बनाउने पनि दाबी गरिन्। 
 

कात्तिक २, २०७८ मंगलबार ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।