आज दशैंकाे अन्तिम दिन कोजाग्रत पूर्णिमा
काठमाडाैंः बडादशैंकाे अन्तिम दिन आज काेजाग्रत पूर्णिमा मनाइँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाअराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैं सकिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ।
आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ।
आजको दिन सायंकालमा महालक्ष्मीको पूजा अराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद् एवं समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।
माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।
लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ। यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ। आज राति जुवा खेल्ने विधानसमेत रहेको छ। महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ।
कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने बुधबार रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।
महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ। आज ३१ घडी ४६ पला अर्थात् बेलुकी ६ः४९ बजेसम्म चतुर्दशी तिथि छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ। बुधबार पूर्णिमा तिथि ३३ घडी ५३ पला अर्थात् बेलुकी ७ः४० बजेसम्म छ।
कात्तिक १, २०७८ सोमबार २१:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।