लालबन्दीमा निर्माणाधीन सब स्टेसन एक महिनाभित्रै निर्माण सम्पन्न हुने

लालबन्दीमा निर्माणाधीन सब स्टेसन एक महिनाभित्रै निर्माण सम्पन्न हुने

सर्लाहीः जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न थालिएकाे सब स्टेसन निर्माण अन्तिम चरणमा पुगेकोे छ। लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभिए प्रसारण लाइनका लागि सब स्टेशनको निर्माण एक महिनाभित्रै सक्ने गरी काम थालिएकाे छ।

नेपाल विद्युत् प्राधिकरणले करिब ४६ करोड ३६ लाखको लागतमा सब स्टेशन बनाएको हो। आर्थिक वर्ष २०७५/७६ देखि यसको निर्माण सुरु भएकोे हो। सब स्टेसनका प्रमुख निरन्जन साहले लकडाउनका कारण समयमै निर्माण सम्पन्न गर्न सक्ने अवस्था नदेखिएको भए पनि चालु आवभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए। अबको एक महिनामा निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको उनले बताए। 

सब स्टेसन निर्माण सम्पन्न भएपछि हरिपुर, मलङ्गवाका सब स्टेसनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने प्रमुख साहले जानकारी दिए।

यसअघि जिल्लामा रहेका तीन सब स्टेसन ३३/११ केभिएका मात्र रहेका कारण विद्युत्सम्बन्धी समस्या आउने गरेकाे थियाे। छिनछिनमै विद्युत् अवरुद्ध हुने, घण्टौंसम्म विद्युत् सूचारु नहुने जस्ता समस्या स्थानीयले भाेग्दै आएका थिए।

अहिले जिल्लामा रहेका तीन वटा सब स्टेसनले धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सब स्टेसनबाट विद्युत् ल्याउनु परिरहेको छ। बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेको र सो क्षेत्रबाट विद्युत् ल्याउँदा जङ्गल क्षेत्र भएका कारण पनि सामान्य समस्या आएमा विद्युत् घण्टौं अवरुद्ध हुने गरेको समस्यालाई दृष्टिगत गर्दै जिल्लामै सब स्टेसन निर्माण भइरहेको उनले बताए।

असोज ३१, २०७८ आइतबार ०९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।