भीषण वर्षाले मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध
सिन्धुपाल्चाेकः गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेको छ। गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो।
गए रातिको वर्षाले अस्थायी सडकमा पनि पुनः क्षति पुगेकाे अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए। उनले मौसममा सुधार आउने बित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याइने बताए।
यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिएका छन्। हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीय यम ज्योतिले बताए।
असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो।
असोज ३१, २०७८ आइतबार ०८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।