कार्यालय एउटा, कार्यक्षेत्र पाँच जिल्ला तर कर्मचारी जम्मा दुई जना
तनहुँः सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्यो। उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो। तर कार्यालयमा भने दुई जना मात्रै कर्मचारी छन्।
त्यसमध्ये पनि एक जना कार्यालय सहयाेगी छन्। कार्यालयको प्रशासनिक र अनुगमन जस्ता कार्यमा एक जना मात्र खटिएका छन्।
प्राविधिक सहायकको दुई दरबन्दी रहे पनि उक्त दरबन्दी रिक्त छ। कर्मचारी अभावमा बजार अनुगमनमा कठिनाइ हुँदै आएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिए।
“कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ,” उनले भने, “कर्मचारी पूर्तिका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौँ।”
उक्त कार्यालय भवन पनि भाडामा सञ्चालन हुँदै आएको छ। कार्यालयको कार्यक्षेत्रमा तनहुँसहित गाेरखा, लमजुङ, मनाङ र पूर्वी नवलपरासी रहेकाे छ। यद्यपि नजिक भएकाले पूर्वी नवलपरासीलाई भने भैरहवा डिभिजनले हेर्दै आएकाे छ।
दुई उद्योगविरुद्ध मुद्दा, ३० ठाउँमा अनुगमन
सीमित जनशक्ति भए पनि कार्यालय यो वर्षको ६ महिनाको अवधिमा ३० ठाउँमा बजार अनुगमन गरेको छ। कार्यालयले तनहुँ, लमजुङ, गोरखा र नवलपुरका विभिन्न ३० ठाउँमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा कार्यालयले कैफियत देखिएका दुई उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ। खाद्य अनुसन्धान अधिकृत पोखरेलका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित कृष्ण पाउरोटी उद्योग र नवलपुरको गैडाकोटस्थित सरस्वती डेरी उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको हाे। त्यस्तै दशवटा मुद्दा अनुसन्धानका क्रममा रहेको पोखरेलले बताए।
असोज ३१, २०७८ आइतबार ०८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।