एनआरएनको कार्यकाल ६ महिना थपियो, निर्वाचन अक्टोबरमा
काठमाडौँ : विवादका कारण तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ।
सङ्घको शनिवार बसेको भर्चुअल बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो। बैठकले सङ्घको १० औँ महाधिवेशन र निर्वाचन आगामी नोभेम्बर ३० तारिखभित्र गर्ने निर्णय समेत गरेको छ।
एनआरएनले अक्टोबर २३ देखि २५ तारिखका लागि १० औँ महाधिवेशन र विश्व सम्मेलन तय गरेको थियो।
सङ्घको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवादित भएपछि परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो। उजुरीको छानबिन गर्न गठित समितिले केही क्षेत्रको प्रतिनिधि छनौट र अधिवेशन विधान विपरीत ठहराएपछि मन्त्रालयले सङ्घको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोकेको थियो।
बैठकले महाधिवेशन प्रतिनिधिहरूका विषयमा भएको विवाद समाधान गर्न सङ्घका पूर्वअध्यक्षहरुसंगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय समेत गरेको छ।
सो समितिले मन्त्रालयबाट आएको निर्देशन अनुसार सदस्यता विवाद र विधान विपरीत अधिवेशन भएका स्थानमा विधान अनुसार अधिवेशन गराउने छ।
असोज ३१, २०७८ आइतबार ०८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।