सात सय वर्ष पुरानाे बेनीकोत पुनःनिर्माण गरिने

सात सय वर्ष पुरानाे बेनीकोत पुनःनिर्माण गरिने

म्याग्दीः सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ। तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा १३औं शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो।

 

बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न व्यवस्थापन र संरक्षणको काम सुरु गरेको हो। नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रामकृष्ण बराइलीले चालु आर्थिक वर्षमा दुई शीर्षकमा विनियोजन गरिएको १३ लाखबाट कोतघर पुनःनिर्माण र व्यवस्थापनको काम थालिएको बताए। 

“पाँच लाखबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ”, उनले भने, “अर्को शीर्षकमा विनियोजन भएको आठ लाखबाट कोतघर पुनःनिर्माण गर्न लागेका छौँ।”

यसअघि उपयोगविहीन रहेको सो जग्गामा अहिले बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ। साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी हुने देखिएको छ।

विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालिन राजधानी बेनी थियो। प्राध्यापक कर्णबहादुर बानियाद्वारा लिखित ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ नामको पुस्तकमा पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेको उल्लेख छ।

ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायत हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने (टक्सार) बनाएका थिए।

असोज ३०, २०७८ शनिबार ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।