राष्ट्रपतिले आमाबाट, प्रधानमन्त्रीले गुरुबाट लगाए दसैँको टिका

राष्ट्रपतिले आमाबाट, प्रधानमन्त्रीले गुरुबाट लगाए दसैँको टिका

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट दसैँको टिका लगाएकी छिन्। राष्ट्रपति कार्यालय, शीतल निवासमा उनलाई आमा पाण्डेले टीका र जमरा लगाइदिएकी हुन्।  

राष्ट्रप्रमुखको रूपमा उनले शुक्रवार बिहान हनुमानढोका गएर त्यहाँका मूल पुजारी देवराज अर्यालको हातबाट समेत दसैँको टीका लगाएकी थिइन्। 

यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले गुरु टिकाराम घिमिरेको हातबाट दसैँको टीका लगाए।

प्रधानमन्त्री निवास बालुवाटारमा टिकाको साइत मिलाएर देउवाले टीका, जमरा र प्रसाद लिए।

गुरुबाट टिका लगाएपछि प्रधानमन्त्री देउवाले श्रीमती डा.आरजु देउवा र छोरा जयवीर देउवालाई टीका लगाइदिएका थिए। कोरोना सङ्क्रमणका कारण प्रधानमन्त्रीले परिवारका सीमित सदस्यमाझ मात्र दसैँ मनाए। उनले परिवारका सदस्यसँगै प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई समेत टीका लगाइदिएका थिए।

कोरोना सङ्क्रमण जारी रहेकाले यो वर्ष पनि राष्ट्र प्रमुख र सरकार प्रमुखको हातबाट आम नागरिकलाई टिका लगाउने कार्यक्रम स्थगित गरिएको थियो।

असोज २९, २०७८ शुक्रबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।