श्रममन्त्री किसानको सम्पत्ति : काठमाडौँको पाँच ठाउँमा घर-जग्गा, १४ करोड लगानी
काठमाडौँ : मन्त्री भएको ६० दिनमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम छ। पहिलो लटमै मन्त्री भएकाहरूले अझै सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले भने मन्त्री भएको चार दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
उनको सम्पत्ति विवरणमा काठमाडौँको पाँच ठाउँमा घर-जग्गा, विभिन्न कम्पनीमा १४ करोड बराबरको लगानी, २ करोड १७ लाखको सेयर लगानी, ७० तोला सुन रहेको उल्लेख छ।
काठमाडौँ महानगरपालिका-९ मा कित्ता नम्बर ११४, ०-८-०-० क्षेत्रमा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ रहेको उल्लेख छ।
काठमाडौँ-३ मा कित्ता नम्बर १०८, ४२९.१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ। काठमाडौँ-१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०-८-३-३ क्षेत्रमा खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ।
काठमाडौँ महानगरपालिका–३ मा साढे दुई तलाको घर र काठमाडौँ-९ धापासीमा सात तलाको व्यावसायिक घर रहेको उनको विवरणमा उल्लेख छ। उनको विभिन्न कम्पनीमा दुई करोड १७ लाख २४ हजार ४ सय रुपैयाँ मूल्य बराबरको सेयर लगानी रहेको उल्लेख छ ।
विवरण अनुसार २० वटा व्यावसायिक कम्पनीहरूमा १४ करोड ५६ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको लगानी छ। हाल मौज्दातमा रहेको घर तथा जग्गा विवरणमा नौ करोड ६९ लाख ७३ हजार ५० मूल्य बराबर रहेको उल्लेख छ ।
श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन रहेको उल्लेख छ। उनले बैङ्क खाता विवरणमा आठ वटा बैङ्कमा आफ्नो पैसा रहेको खुलाए।
प्राइम कमर्सियल बैङ्क, ग्लोबल आइएमई, सिभिल बैङ्क, एभरेष्ट बैङ्क र नेपाल बङ्गलादेश बैङ्कमा उनको खाता छ। श्रीमतीको नाममा ग्लोबल आइएमई, एनएमबी र नबिल बैङ्कमा खाता रहेको उल्लेख छ।
असोज २६, २०७८ मंगलबार १४:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।