सत्ताधारी तीन दलका विद्यार्थी नेताको दाबी : मोतीपुर घटनाको कारण ओली सरकार
काठमाडौँ : सत्ताधारी दलका तीन विद्यार्थी सङ्गठनले एमाले नेतृत्वको सरकारको अर्थमन्त्रीका कारण रुपन्देहीको मोतीपुर घटना भएको दाबी गरेका छन्।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) निकटका विद्यार्थी सङ्गठनहरूले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको दोष पूर्व सरकारलाई दिएको हो। सत्ताधारी दलको नेतृत्व गरेको नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घले भने विज्ञप्तिमा हस्ताक्षर गरेको छैन।
उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले मोतीपुरमा स्थानीयको अवरोधकाविच प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए।
माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली र जसपा निकटको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ' अनाहकमा जनताको ज्यान गएको यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ।’
मोतीपुरमा प्रदर्शनकारी र प्रहरीबिचको झडपमा चार जनाको ज्यान गएको थियो। ५० जनाभन्दा बढी प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएको सो घटनामा प्रहरीले ११ वर्ष अगाडि नै म्याद सकिएको टियर ग्याँस प्रयोग गरेको खुलेको थियो।
असोज २६, २०७८ मंगलबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।