मन्त्री हमालका सम्बन्धमा गलत प्रचार गरियो : प्रधानमन्त्री देउवा
मन्त्रिपरिषद्ले पूर्णता पाएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्री देउवाले हमालबारे भ्रममा नपर्नसमेत आग्रह गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवाले हमाललाई नियुक्त गर्नुभएको प्रवक्ता कार्कीले बताए। उनले मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको उल्लेख गरे।
नवनियुक्त मन्त्री हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र सोही आधारमा कांग्रेसका तर्फबाट नियुक्त हुनुभएको मन्त्री कार्कीको भनाइ छ।
बैठकमा प्रधानमन्त्री देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएको उनले जानकारी दिए। कार्कीका अनुसार मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले देश, जनताको आवश्यकताअनुसार उत्साह र इमानदार भएर जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएका हुन्।
बैठकले आजैदेखि लागू हुने गरी सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कार्कीलाई नै दिएको छ। यसअघि पनि कार्की नै सरकारको प्रवक्ता थिए।
बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गरेको प्रवक्ता कार्कीले जानकारी दिए।
असोज २२, २०७८ शुक्रबार २१:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।