मन्त्रिपरिषद्मा ११ नयाँ अनुहार
असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति, हेरफेर र जिम्मेवारी बाँडफाँड गरेका २५ मध्ये ११ जना पहिलो पटक मन्त्री बनेका हुन्।
पहिलो पटक मन्त्री बन्नेमा २०७४ सालको निर्वाचनमा चितवनबाट नेपाली कांग्रेसको समानुपातिक कोटाकी सांसद बनेकी उमा रेग्मी र कांग्रेसको १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित बाँके नेपालगन्जका गजेन्द्र हमाल छन्।
हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका जेठान समेत हुन्। रेग्मीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक र हमालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै मन्त्री बन्ने नयाँ अनुसारमा नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराज छन् भने बोधमायाकुमारी यादव पहिलो पटक राज्यमन्त्री बनेकी छन्। पौडेल बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गहतराज बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।
शशी श्रेष्ठ काठमाडौँ र बोधमाया धनुषाबाट माओवादी केन्द्रको समानुपातिक कोटामा सांसद बनेका हुन्। श्रेष्ठ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति समेत हुन्। पहिलो पटक मन्त्री बनेका पौडेल शिक्षा विज्ञान तथा प्रविधि, गहतराज युवा तथा खेलकुद, श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र यादव शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्री बनेका छन्।
यस्तै विरोध खतिवडा, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ किसान पहिलो पटक मन्त्री बनेका छन् भने भवानीप्रसाद खापुङ पहिलो पटक राज्यमन्त्रीमा नियुक्त भएका छन्।
यी चारै जना नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको कोटामा मन्त्री बनेका हुन्। खतिवडा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट, किसान तनहुँ क्षेत्र नम्बर १ बाट र खापुङ तेह्रथुम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। झाँक्री काठमाडौँबाट समानुपातिक कोटामा निर्वाचित सांसद हुन्।
यस्तै राजेन्द्र श्रेष्ठ पनि पहिलो पटक मन्त्री बनेका छन्। उनी जनता समाजवादी पार्टी जसपाको कोटामा पहिलो पटक मन्त्री बनेका हुन्। जसपाको समानुपातिक कोटामा काठमाडौँबाट सांसद बनेका श्रेष्ठले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएका छन्।
असोज २२, २०७८ शुक्रबार १९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।