मिश्रित निर्वाचन प्रणालीको विपक्षमा माओवादी : प्रचण्डले चाहेको निर्वाचन प्रणाली कस्तो हो ?

मिश्रित निर्वाचन प्रणालीको विपक्षमा माओवादी : प्रचण्डले चाहेको निर्वाचन प्रणाली कस्तो हो ?

काठमाडौँ : केही दिन अगाडि माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्माले अहिलेको मिश्रित निर्वाचन प्रणालीको विपक्षमा मत राख्दै पूर्ण समानुपातिक निर्वाचन पक्षमा वकालत गरेका थिए।

बिहीबार कसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान मिश्रित प्रणालीको विपक्षमा उभिँदै पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने बताए।

अनेरास्वियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनी अहिलेको निर्वाचन प्रणाली महँगो भएको र जसले पैसा खर्च गर्यो उसैले जित्ने अवस्था रहेको दाबी गरे।

२०६४ सालको निर्वाचन सम्झँदै उनले भने' त्यो बेलामा त पैसै खर्च गर्नुपरेको थिएन। केहीले आफैँ नमस्कार गर्दै गरेको सहयोग रकम पनि जोगिएको थियो।'

तर अहिले पैसा नभई चुनाव जित्नै नसक्ने अवस्था आएकाले अब पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उनको तर्क थियो।

'गाउँ पालिकामा उम्मेदवार बन्न २०-४० लाख लाग्ने भयो। प्रदेशमा एक करोड अनि केन्द्रमा ८-१० करोड खर्च लाग्ने भएपछि पैसा नहुनेले कसरी राजनीति गर्ने,' उनले भने' अनि हिजो नेताहरूले हेडक्वार्टर दिने गर्थे। अहिले त माग्छन् मात्रै। सबै अध्यक्षले दिनुपर्ने अनि अध्यक्षले पुँजीपति दलाललाई नमस्कार गर्दै माग्नुपर्ने।'

प्रचण्डले चाहेको निर्वाचन प्रणाली कस्तो हो ?

अहिले नेपालमा मिश्रित निर्वाचन प्रणाली छ। एक प्रत्यक्ष उम्मेदवारकै हारजित हुने। पार्टीको तर्फबाट उम्मेदवार बनेकाहरू निर्वाचनको प्रतिस्पर्धामा होमिन्छन् र उम्मेदवारहरुविच हार जितको टुङ्गो लाग्छ।

अर्को छ समानुपातिक। प्रत्यक्ष उम्मेदवार बनेका उम्मेदवारसँगै मतदाताले पार्टीलाई समेत मत दिन्छन् र पार्टीले पाएको मतको आधारमा निर्वाचन आयोगले कति सिट जितेको हो सो निश्चित गर्छ। त्यसको आधारमा पहिल्यै पार्टीले आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारहरूको सूची अनुसार सांसद चयन गर्छ।

प्रचण्डले माग गरेको निर्वाचन दोस्रो हो। पार्टीका उम्मेदवारको साटो सिधै पार्टीलाई मत दिने र पार्टीले पाएको मतको प्रतिशतको आधारमा संसद् चयन हुने प्रणाली भए निर्वाचन खर्च कम हुने उनको तर्क देखिन्छ।

असोज १४, २०७८ बिहीबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।