भारतीय फिल्मको दृश्य सम्झेर भावुक भए प्रचण्ड

भारतीय फिल्मको दृश्य सम्झेर भावुक भए प्रचण्ड

काठमाडौँ : सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दा भावुक हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वभावै हो। बिहीबार पनि उनी भावुक भए। तर भावुक हुनुको कारण अलि गम्भीरै थियो।

बिहीबार अनेरास्वियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उनी भावुक हुनुको कारण थियो उनको मनमा आएको आत्महत्याको भावना।

जब एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो एक समय प्रचण्ड न नेकपामा बस्न सक्ने न छाड्न सक्ने अवस्थामा पुगेका थिए।

त्यो बेला आफूमा आत्महत्याको भावना आएको भन्दै भावुक भएका उनले सबै आत्महत्या नराम्रो नहुने भन्ने तर्कसम्म गरेका थिए।

भगत सिंहको फिल्ममा चारै तिर दुस्मनले घेरेपछि चन्द्रशेखर आजाद एउटा रूखमुनि बसेर एक मुठ्ठी माटो समातेर धर्ती माँ, मैले यत्ति नै गर्न सकेँ भनेर आफूसँगै रहेको पेस्तोलले हानेर  आत्महत्या गरेको घटना सुनाउँदै उनले झन्डै-झण्डै आफ्नो अगाडि पनि यस्तै अवस्था आएको बताएका थिए।

उनले भने 'लडाइँ गर्ने कि! आत्मसमर्पण त गर्न सक्दिनँ, गर्न हुँदैन। हजारौँ सहिद, बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूको सबै ऋण मेरो टाउकोमा छ। या त मैले सकिनँ यत्ति नै रहेछ भनेर आत्महत्या गर्नुपर्ने। या त लड्न पर्ने। लड्ने कि मर्ने,' उनले थपे। 

असोज १४, २०७८ बिहीबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।