पश्चात्तापको भुमरीमा प्रचण्ड
काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजोआज सार्वजनिक कार्यक्रममा पश्चात्तापको शैलीमा प्रस्तुत हुने गरेका छन्।
हरेक कार्यक्रममा उनी हिजोको सशस्त्र द्धन्द्धकालबारे बोल्दा उत्साहित हुन्छन्। जब शान्तिपूर्ण आन्दोलन पश्चात् खुल्ला राजनीतिमा आए पछिका आफ्नै गतिविधि सम्झन्छन् उनीसँग पश्चात्तापै पश्चात्ताप मात्रै देखिन्छ।
बिहीबार माओवादी केन्द्र निकट अनेरास्वियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रको उनको सम्बोधन पनि यस्तै थियो।
विद्यार्थी नेताहरूलाई उत्साहित गराउन अबको नेतृत्व तपाइहरूकै हातमा हो भने पनि अधिकांश समय उनले आफ्ना नेताहरूको कार्यशैली अनि पार्टी एकतापछिका केपी ओलीको कार्यशैलीको आलोचना र पश्चात्तापमै खर्चिए।
नेताहरू सत्ता र शक्तिका पछि लागेको, मन्त्री हुन झगडा गर्ने गरेको भन्दै उनले हिजो ज्यान दिन प्रतिस्पर्धा गर्ने नेताहरू आज सत्ता र शक्तिका लागि झगडा गर्ने गरेको भन्दै आलोचना गरेका थिए।
सत्ता र सक्तीको मोहमा नेतृत्व बिग्रँदै गएको भन्दै उनले नेतृत्व सच्चिनुपर्ने बताए।
'जो जति माथि नेतृत्वमा गयो त्यो त्यति धेरै अवसरवादी। जो जति पटक मन्त्री भयो त्यो त्यति...,' उनले सम्बोधनमा भने' बढो अनौठो भइराखेको छ कमरेडहरू। मैले जसलाई धेरै मन्त्री बनाए ती पतन भए। जो जति माथि आए ती त्यति दलालहरूसँग एकाएक भएर गए। जनतासँग सम्बन्ध विच्छेद भएझैँ भयो।'
आफूलाई मन्त्री बनाउन आएका दबाबका कारण समस्या परेको भन्दै आएका छन् प्रचण्डले। जुन नेता पनि मन्त्री बन्न खोज्दा कसलाई पठाउने भनेर निर्णय गर्न नसकेको बताउँदै आएका उनले बिहीबारको कार्यक्रममा पनि त्यो भावना लुकाउन सकेनन् उनले।
'हिजो सबै सम्पत्ति त्याग गर्न तयार हुनेहरू हामी। जान नपाउँदा रुने हामी। लड्न जान पाइएन, मर्न जान पाइएन भनेर रुने हामी अहिले हामी पद पाइएन भने रुने भयौँ,' उनले भने'मन्त्री नपाउँदा रुने भयौँ। पैसा नपाउँदा रुने भयौँ।'
आफ्नै नेताहरूले अब प्रचण्डबाट केही हुँदैन भनेर आफ्नो पछाडि कुरा काट्ने गरेको भन्दै उनले आफू सक्रिय राजनीति छाडेर किताब लेखेर बस्न तयार रहेको बताएका थिए।
जसले प्रचण्डबाट हुँदैन भनेर आलोचना गरिरहेका छन् उनीहरूले आफ्ना गति धी हेर्नुपर्ने र नेतृत्व लिने हिम्मत गर्नुपर्ने भन्दै उनले मञ्चमा भएका नेताहरूतिर फर्कँदै भने' छ हिम्मत?'
असोज १४, २०७८ बिहीबार २१:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।