मन्त्री पाइएन भनेर रुवाबासी गर्ने प्रतिस्पर्धा चलेको छ : प्रचण्ड 

मन्त्री पाइएन भनेर रुवाबासी गर्ने प्रतिस्पर्धा चलेको छ : प्रचण्ड 

काठमाडौँ : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केपी ओली र कमल थापाको आतङ्क रहेको बताएका छन्।

प्रचण्डले गणतन्त्र रोक्न पहल गर्ने केपी ओली र कमल थापाको आतङ्क रहेको बताए। माओवादीलाई घेरा हाल्ने र सकाउने रणनीतिअनुसार नै प्रतिनिधिसभा विघटन गरिएको प्रचण्डको भनाई थियो।

पार्टी सम्बद्ध अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनमा प्रचण्डले क्रान्ति नछाड्ने सङ्कल्पसहित आफूहरू आन्दोलनमा उत्रिएका कारण प्रतिगमन परास्त भएको उल्लेख गरे।

आफूले बनाएकाहरू नै गलत बाटोमा लाग्नु जस्तो विचित्र अरू केही नभएको प्रचण्डले बताए। विगतमा सङ्घर्षका लागि अग्रमोर्चामा जाने प्रतिस्पर्धा हुने गरेको तर अहिले मन्त्री पाइएन, पद पाइएन भनेर रुवाबासी गर्ने प्रतिस्पर्धा चलेको गुनासो प्रचण्डले गरे।

उनले अहिलेको गलत निर्वाचन प्रणालीका कारण जनताका प्रतिनिधिले कहिल्यै निर्वाचन जित्न नसक्ने अवस्था आएको बताए। चुनाव जित्न करोडौँ खर्च गर्नुपर्ने अवस्था आएको उनले बताए।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा  शहीद तथा बेपत्ता परिवारलाई राहत दिने विषयमा गरिएको निर्णयको माइन्युट नै लुकाइएको प्रचण्डको भनाई थियो।

असोज १४, २०७८ बिहीबार १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।