सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने, सुझावका लागि धन्यवाद
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले संसद्को अवरोध हटाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सर्वदलीय बैठकमा उपस्थित नभएर एमाले वार्ता र संवादबाट भागेको प्रवक्ता कार्कीले बताए। ‘आज उपस्थित नभए पनि आउनुहुन्छ भन्ने विश्वास प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्त गर्नु भएको छ,’बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कार्कीले भने,‘संसद्लाई निर्बाध सञ्चालन गर्न केपी शर्मा ओलीले सकारात्मक भूमिका निर्वाह गर्नु हुन्छ भन्ने विश्वास छ।’
उनले प्रतिनिधि सभामा ३३ वटा र राष्ट्रिय सभामा २७ वटा विधेयक विचाराधीन रहेको बताए। उनले विचाराधीन विधेयक पारित गर्न पनि संसद् निर्बाध चल्नु पर्ने बताए।
सरकारले संसद् अधिवेशन अन्त्य गर्न लागेको विषयमा कानुन मन्त्री एवं प्रवक्ता कार्कीले अधिवेशन अन्त्यबारे नसोचेको जवाफ दिए।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संसद्को अवरोध हटाउने पहल गर्न सरकारलाई रुलिङ गरेपछि सर्वदलीय बैठक बसेको प्रवक्ता कार्कीले बताए।
बैठकले संसद्को अवरोध हटाउने थप कोसिस गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन।
‘संसद्को अवरोध हटाउने विषय नै आजको एजेन्डा थियो,अवरोध गर्ने एमाले उपस्थित भएन,’पौडेलले उकेरासँग भनिन्,‘थप कोसिस गर्न प्रधानमन्त्रीलाई बैठकले सुझाव दिएको छ।’
प्रधानमन्त्री देउवाले आफूले प्रयास गरिरहेको र थप कोसिस गर्ने बताएको पौडेलले जानकारी दिइन। ‘कोसिस गरिरहेको छु, फेरि पनि प्रयास जारी राख्छु,’प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै पौडेलले भनिन्,‘सुझावका लागि प्रधानमन्त्रीले धन्यवाद दिनुभयो।’
असोज १४, २०७८ बिहीबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।