प्रधानमन्त्रीलाई एमालेको जवाफ : माधव नेपालको प्रश्नै होइन, बैठकमा उपस्थित हुँदैनौ
माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी उपस्थित हुने बैठकमा एमाले नआउने जानकारी प्रधानमन्त्री देउवालाई गराएको हो।
प्रधानमन्त्री देउवाले संसदमा एमालेले जारी राखेको अवरोध अन्त्यका विषयमा छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक राखेका छन्। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सर्वदलीय बैठकका लागि बालुवाटार जाँदै गरेको बताइन।
उनले बैठकको विषयबारे जानकारी नगराइएको बताइन। प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले संसदमा जारी अवरोधका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको जानकारी दिए।
संसदमा भदौ २३ गतेदेखि प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्दै आएको छ। अवरोध हटाउने विषयमा हुन लागेको छलफल एमालेले बहिष्कार गरेको छ।
‘भन्न त उहाँहरूले माधव नेपाल बिरामी हुनुहुन्छ, आउनुहुन्न भनेका थिए,’एमालेका एक नेताले उकेरासँग भने,‘माधव नेपाल बिरामी भएको प्रश्नै होइन, उहाँको पार्टीलाई एमालेले मान्यता दिएको छैन, उहाँको पार्टी उपस्थित हुने बैठकमा हामी उपस्थित हुँदैनौ भन्यौं।’
एमालेले माधव नेपाल सहित १४ जनालाई संसद् प्रवेशमा रोक लगाउनु पर्ने नारा लगाइरहेको छ। ‘एकीकृत समाजवादी पार्टीको वैधानिकताबारे एमालेले संसदमा मुद्दा हालेको छ,’उनले भने,‘अदालतमा त्यो मुद्दा विचाराधीन छ।’
असोज १४, २०७८ बिहीबार १०:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।