प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीको सन्देश : षडयन्त्रपूर्ण काम भो
आफूलाई भेट्न आएका कानुन मन्त्री ज्ञानेन्द्र बहादुर खड्का मार्फत उनले पठाएको सन्देशमा चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र रहेको र सो संविधान विपरीत रहेको उल्लेख छ।
सन्देशमा अध्यादेश फिर्ता लिने निर्णय समेत असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको उल्लेख गरिएको उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
'चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो,' सन्देशमा भनिएको छ' अहिले संसद् अधिवेशन चालु छ। त्यो अध्यादेश प्रतिस्थापन गर्न सांसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ। कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो। संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन।'
तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैर कानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रस्ट रहेको सन्देशमा उल्लेख छ।
असोज १२, २०७८ मंगलबार १३:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।