मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस : माधव नेपाल बिरामी, उपेन्द्र काठमाडौँ बाहिर
‘अस्ति बेलुकादेखि उहाँ सन्चो नभएर घरमै आराम गरिरहनु भएको छ,’सचिवालयका मोहन गौतमले उकेरासँग भने,‘छलफलमा सहभागी हुन सक्नुहुन्न।’
एकीकृत समाजवादीले आइतबार पार्टीबाट मन्त्री बन्ने ७ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हल्ला मात्रै भएको गौतमले बताए। ‘नाम बुझाइएको छैन,’उनले भने,‘सन्चो नभएकाले उहाँ छलफलमा सहभागी हुनुहुन्न।’
गौतमका अनुसार नेपाललाई डाक्टरले केही दिन आराम गर्न सल्लाह दिएका छन्।
माधव नेपाल सहभागी नहुने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर रहेकाले सत्ता गठबन्धनको आज छलफल हुने सम्भावना नरहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय भाडफाड संख्यामा टुङ्गिएको नेताहरूले बताएका छन्। एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ६/६ मन्त्रालय पाउने टुङ्गो लागेको छ।
तर, एकीकृत समाजवादीले ७ जनाको नाम नै बुझाएको छ। जसपामा पनि मन्त्री बन्ने आकंक्षी मिलाउन उपेन्द्र यादवलाई सकस परेको छ। ‘मन्त्रालय भागबन्डा टुङ्गो लागेको छैन,’अध्यक्ष यादवले उकेरासँग भने,‘मन्त्रालय भागबन्डा टुङ्गो लगाएपछि नाम दिन्छौँ।’
सरकारमा सहभागी हुन जसपाले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज हुनुपर्ने सर्त राखेको थियो।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकाले जसपा अब सरकारमा सहभागी हुने नेता मोहम्मद इस्तियाक राईले बताए। तर, अध्यादेश खारेज भएकै भोलिपल्ट भने मन्त्रीपरिषद्ले पूर्णता नपाउने भएको छ।
मन्त्रालय भागबन्डा मिलाउँदा नेकपा माओवादी केन्द्रले ६ वटा मन्त्रालय पाउने नदेखिएपछि अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन्। उनले दिउँसो ३ बजे पेरिसडाडामा स्थायी कमिटी बैठक बोलाएका हुन्।
सत्ता गठबन्धन दलहरूले भोलि र पर्सिमा मन्त्रीपरिषद्लाई पूर्णता दिने बताएका छन्। तर, मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने छलफलमा बस्न सकेका भने छैनन्।
असोज १२, २०७८ मंगलबार ११:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।