नेपाल-चीन सीमामा समस्या : संयुक्त निरीक्षण समिति गठनको सुझाव

नेपाल-चीन सीमामा समस्या : संयुक्त निरीक्षण समिति गठनको सुझाव

काठमाडौँ : नेपाल–चीन सीमा क्षेत्रको अध्ययन गर्न गठित समितिले सरकारलाई संयुक्त विज्ञ समूह गठन गर्न सुझाव दिएको छ।

हुम्लाको नाम्खा गाउँपालिकाको नेपाल-चीन सीमा क्षेत्रको अध्ययन गर्न गठित समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा समस्या समाधानका लागि संयुक्त निरीक्षण समूह र संयुक्त विज्ञ समूह गठनको सुझाव रहेको गृह मन्त्रालयले जनाएको छ।

समितिका संयोजक सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा द्विपक्षीय विषयहरू ' संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समूहबाट समाधान गर्न सुझाव दिइएको गृहले विज्ञप्तिमा जनाएको छ।

आचार्यको संयोजकत्वमा दुई साताअघि गृह मन्त्रालयले नापी विभागका उप महानिर्देशक सुशील डङ्गोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक किशोर श्रेष्ठ सम्मिलित ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो।

गृहको विज्ञप्तिमा उल्लेख गरिएको संयुक्त विज्ञ र संयुक्त निरीक्षण समिति गठनको सुझावले सो क्षेत्रको सिमामा समस्या रहेको देखिन्छ। तर कस्तो प्रकारको समस्या त्यो भने सार्वजनिक गरिएको छैन।

सो क्षेत्रमा चिनियापक्षले एकतर्फी रूपमा सीमा स्तम्भ मर्मत गरेको, नेपाली भू-भाग अतिक्रमण गरेको लगायतका दाबी सार्वजनिक भएका थिए।

सरकारले नेपाल-चीन सीमाको अध्ययन गर्न समिति गठन गरेपछि समस्या नै नभएको क्षेत्रको अध्ययन गर्न समिति गठन गरेर चीनसँगको सम्बन्धलाई विवादित बनाउने प्रयास गरेको भन्दै प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको थियो।

असोज १०, २०७८ आइतबार २०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।