एमाले अध्यक्ष ओलीको राजनीतिक प्रस्ताव एकाङ्की भएको भुसालको दाबी : राखे फरक प्रस्ताव
एमाले केन्द्रीय कमिटी बैठकमा उनले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख भएको एमाले र माओवादी केन्द्रको एकतादेखि सर्वोच्च अदालतको आदेशमा भएको विघटनलाई एकाङ्की रूपमा उल्लेख गरेको भन्दै फरक मत राखेका हुन्।
भुसालले राखेको तीन बुँदे फरक प्रस्तावमा विगतको समीक्षा, नयाँ कार्यदिशाका निम्ति ठोस प्रस्ताव र जनताको बहुदलीय जनवादको सैद्धान्तिक व्याख्या गरिनुपर्ने माग राखिएको छ। उनले संसद विघटन गर्नु गल्ती भएको र सो स्विकार गर्नुपर्ने मत राखेका थिए।
एमालेले ठुलो धक्का खाएको तर त्यसलाई पार्टी अध्यक्षको प्रतिवेदनमा त्यो रूपमा उल्लेख नभएको र पार्टी एकतादेखि विघटनसम्मका घटनाक्रमबारे प्रतिवेदन वस्तुनिष्ठ नभई एकाङ्की भएको उनले दाबी गरेका छन्।
उनले पार्टी अध्यक्षले पार्टी विभाजनमा भएका कमजोरी स्वीकार नगरेको दाबी गरेका छन्। उनले प्रस्तावमा एमालेको नवौँ महाधिवेशनले तय गरेको कार्यदिशा अनुसार पार्टी अगाडि नबढेको भन्दै पार्टीले लिएको जनताको बहुदलीय जनवाद कार्यान्वयन गर्ने दण्डित भएको केवल जप्ने मात्र पुरस्कृत भएको फरक प्रस्तावमा उल्लेख गरेका छन्। भुसालले फरक मत राखे पनि कमिटीले भने अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेको छ।
असोज १०, २०७८ आइतबार १८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।