मणिपाल विक्री प्रकरण : निजी संस्थालाई विक्रीको विपक्षमा सांसदहरू, सम्झौता पत्र बुझाउन संसदीय समितिको निर्देशन

मणिपाल विक्री प्रकरण : निजी संस्थालाई विक्रीको विपक्षमा सांसदहरू, सम्झौता पत्र बुझाउन संसदीय समितिको निर्देशन

आइतबार बसेको समितिको बैठकले सरकारसँग सरकार र मणिपालको व्यवस्थापन पक्षविच भएको सम्झौता पत्र समितिमा बुझाउन निर्देशन दिएको हो। भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप र सरकारबिच भएको सम्झौतामा अस्पताल विक्री गर्न नपाउने उल्लेख भए पनि भारतीय पक्षले एकतर्फी रूपमा नेपाली व्यवसायीलाई सो अस्पताल विक्री गरेका थिए।

४९ वर्षपछि समूहले कलेजको स्वामित्व सरकारलाई हस्तान्तरण गर्ने सम्झौतामा प्रस्ट उल्लेख हुँदाहुँदै बिचैमा भारतीय समूहले आफ्नो स्वामित्व पोखराको २ व्यवसायीक समूहलाई विक्री गरेको सार्वजनिक भएको थियो।

पोखराकै बापो (बतास–पौडेल) होल्डिङ्सले सो अस्पताल खरिद गरेको सार्वजनिक भइसकेको छ। होल्डिङ्समा बतास अर्गनाइजेसनको ६० प्रतिशत र अटोवेज ग्रुपको ४० प्रतिशत लगानी रहेको सार्वजनिक भइसकेको छ।

बतास अर्गनाइजेसन पशुपति धर्मशाला लगायतकाको सरकारी संरचनालाई व्यवसायीकरण गरेर विवादमा आइरहेका आनन्दराज बतासको हो। अटोवेजको अध्यक्ष नारायण पौडेल हुन्।

समितिको छलफलमा बोल्ने अधिकांश सांसदहरूले मणिपाल किनबेच हुन नसक्ने धारणा राखेपछि समितिकी सभापति जयपुरी घर्तीले सरकार र मेडिकल ग्रुपबिच भएको सम्झौता पत्र समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएकी थिइन्। उनले सम्झौता पत्रका आधारमा सरकारलाई थप निर्देशन दिने बताएकी थिइन्।

समितिमा शिक्षा मन्त्रालयका अधिकारीहरू उपस्थित थिए। शिक्षा सचिव रामप्रसाद थपलिया र सहसचिव हरिप्रसाद लम्सालले मणिपाल विक्री भएकोबारे मन्त्रालयलाई जानकारी नभएको दाबी गरेका थिए। 

असोज १०, २०७८ आइतबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।