एनआरएनको अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा, उम्मेदवार सङ्ख्या तीन पुग्यो
उनी बेलायत बस्दै आएका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै आचार्यले केही समयदेखि संस्थाको गरिमा खस्किएकाले अध्यक्ष भएर गरिमा बढाउने दाबी गरेका थिए। संस्थामा अनियमितता र दुरुपयोगका गुनासो बढ्दै गएको बताउँदै उनले आर्थिक अनियमितता र दुरुपयोग रोक्दै गुनासो आउने नदिने दाबी गरेका थिए।
सङ्घको नेतृत्व तहका केही जिम्मेवार व्यक्तिले संस्थालाई व्यक्तिगत स्वार्थ अनुरूप प्रयोग गरेको आरोप समेत लगाएका थिए।
एनआरएनको राष्ट्रिय परिषद्को निर्वाचनमा धाँधली भएको भन्दै परराष्ट्र मन्त्रालयले अहिले एनआरएनका सबै निर्वाचनको प्रक्रिया रोकेको छ। उनले पत्रकार सम्मेलनमा नेतृत्वको कमजोरीका कारण एनआरएनको निर्वाचन अनिश्चित बनेको दाबी समेत गरेका थिए।
अध्यक्षमा तीन जनाको दावेदारी
यस अगाडि नै वर्तमान कार्य समितिकी उपाध्यक्ष रहेकी रविना थापाले पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी थिइन्। वर्तमान उपाध्यक्ष रसियाका डा. बद्री केसीले पनि यसअघिकै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
गत निर्वाचनमा प्रजातान्त्रिक धारको उम्मेदवारको रूपमा अगाडि बढेका आचार्य तत्कालीन नेकपाको भोट तान्न नसक्दा पन्तसँग पराजित भएका थिए। अहिले नेकपा छिन्नभिन्न भएको र नेपाली काँग्रेस, माओवादी केन्द्र र एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका माधव नेपाल एकै थलोमा रहेकाले उनलाई सहज हुनसक्छ।
अघिल्लो निर्वाचनमा जिवा लामिछानेले पन्तलाई साथ दिँदा समेत आचार्य कमजोर बनेका थिए। काँग्रेसभित्रै रामचन्द्र पौडेल समूहले उनलाई साथ दिएको थिएन।
रविना समेत प्रजातान्त्रिक धारबाटै उम्मेदवार बन्ने तयारीमा छिन्। आचार्य र थापा दुवै उम्मेदवार बने तेस्रो उम्मेदवारलाई फाइदा हुने देखिन्छ। रसियाका केसी यस अगाडि अध्यक्षका उम्मेदवार पन्तकै प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका हुन्।
असोज १०, २०७८ आइतबार १५:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।