मुक्तिनाथ मन्दिर भक्तजनका लागि खुला
मुस्ताङः हिन्दू तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको हाे।
गत वैशाखयता काेराेना भाइरस सङ्क्रमण तीव्र बन्दै गएपछि मन्दिर बन्द गराइएकाे थियाे। मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिए।
“स्वदेशीका लागि पिसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्ये कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ”, उनले भने, “विदेशीका लागि ७ दिनभित्रको पिसीआर रिपोर्ट अनिवार्य गरिएको छ।”
सोह्रश्रद्धामा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन्। यस्तै चाडपर्वकाे अवसरमा पनि भक्तजन दर्शन गर्न आउने भएकाले मन्दिर खुलाइएकाे हाे।
असोज १०, २०७८ आइतबार ०७:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।