पानीको स्रोत जोगाउन जुट्यो कामपा
काठमाडाैंः पानीकाे स्राेत जाेगाउन तथा भूमिगत पानी पुनःभरण र आकासेपानी सङ्कलन गर्न काठमाडाैं महानगरपालिकाले तयारी थालेकाे छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार नन्दी स्कुलमा पानी सङ्कलन प्रणाली निर्माणको शिलान्यास गरेका थिए।
प्रमुख शाक्यले प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न महानगरले यस्ताे प्रणाली निर्माण गरेकाे बताए।
“अहिले डिप बोरिङ गरेर पानी निकाल्ने काम मात्र भएको छ। यसले जमिनमुनि पानीको सतह घट्याे। अब त्यो सतह बढाउने काम गर्नुपर्छ”, कामपा–१ का अध्यक्ष भरतलाल श्रेष्ठले भने। उनले नन्दी स्कुलको जमिनबाट पानीभित्र पठाएपछि यस आसपासमा भएका ढुङ्गेधारामा पानीको बहाव बढ्ने अपेक्षा गरे।
महानगरको वातावरण इन्जिनियर निशा कोइरालाले उक्त विद्यालयको २९७ वर्गमिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोली ट्याङ्क फ्लस डाइभर्टरमा पठाइने बताइन्।
जलाधार क्षेत्रमा भएको धुलो, कसिङ्गर वा अन्य फोहरसहितको पानी यसमा भरिन्छ। त्यसपछिको सफा पानी ट्याङ्क हुँदै एक हजार लिटरको फिल्टर युनिटमा पुग्छ। रोडा र बालुवामा त्यहाँबाट छानिएको पानी भूमिगत ट्याङ्कीमा खस्छ। पानी जम्मा गर्न ६ मिटर लम्बाइ, ४ मिटर चौडाइ र एक दशमलव ८ मिटर उचाइ भएको ४१ हजार ७६० लिटर क्षमताको ट्याङ्की बनाइनेछ।
असोज ९, २०७८ शनिबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।