ताजा जनादेशमा जानुको विकल्प छैनः एमाले उपमहासचिव पौडेल
बुटवलः नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले ताजा जनादेशमा जानुको विकल्प नभएको बताएका छन्। प्रतिनिधि सभाको निरन्तरताबाट मुलुकले कुनै गति लिन नसक्ने भन्दै उनले ताजा जनादेशमा जानुपर्ने बताए।
उद्योग व्यापार संगठन, रुपन्देहीको १४औं वार्षीक साधारण सभा तथा ७औं अधिवेशनमा नेता पौडेलले गठबन्धन सरकारले नागरिकका ईच्छा र आकांक्षा अनुसार काम गर्न नसक्ने बताउँदै स्थिर र बलियो सरकार १४ महिनापछि हुने निर्वाचनबाट नागरिकले पाउने बताए।
‘१२–१४ महिनापछि मुलुक निर्वाचनमा जान्छ, त्यसपछि स्थिर, बलियो र अग्रगामी सरकार बनाउनुपर्छ’, उनले भने।
त्यस्तै उनले सभामुख अग्निप्रसाद सापकोटा साझा नभइ एउटा दल विशेषको कार्यकर्ताको रूपमा प्रस्तुत भएको समेत आरोप लगाए। उनले दलीय अनुशासनमा राख्ने सार्वभौम अभ्यासकाविरुद्ध हस्तक्षेप गरेर दलहरू विभाजन गर्ने कार्यमा सभामुख लागेको बताए।
नेता पौडेलले रुपन्देहीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी मण्डप, तिनाउ–नदी कोरिडोर सडक, बेलबास बेथरी सडक, मोतीपुर औद्योगिक क्षेत्रलगायतका विभिन्न योजना अगाडि बढेको बताउँदै यी योजना सम्पन्न भएपछि रुपन्देहीले पुर्वधार विकाससँगै आर्थिक विकासमा समेत फड्को मार्ने बताए।
असोज ९, २०७८ शनिबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।