भन्सार छलेर ल्याइएको २५ लाख बराबरको सामान बरामद
बुटवलः प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको सामान बरामद गरेको छ। रोहिणी गाउँपालिका–२ खुरहुरियास्थित एउटा खाली घरमा गोदाम बनाएर दशैंमा बेचबिखन गर्न तयारी अवस्थामा राखिएको भन्सार छलेर ल्याइएको सामान प्रहरीले बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले शुक्रबार राति १० बजे उक्त गोदाममा छापा मारेर भन्सार छली गरेर ल्याइएका २५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको हाे।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले कुर्ती १६४८ पिस, उलन सर्ट ५९४ पिस, सुट ४५३ पिस, प्रिन्टर मसी २२५ पिस, चप्पल ५७ जोर, टिसर्ट ९३ पिस, थान कपडा ८ बण्डल, जुत्ता ३० जोर, सुट ३९ पिस र ट्रयाक ११५ पिस बरामद गरिएको बताए।
बरामद गरिएका सामान आइतबार भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको उनले बताए। सामान कसले ल्याएर गोदाम गरेको हो भन्ने विषयमा खोजी भइरहेको प्रहरीले जनाएको छ।
चाडपर्वलक्षित सुरक्षा योजनाअनुसार चोरी तस्करी र अपराध नियन्त्रणमा खटिएको प्रहरीले भन्सार छलीको सामान बरामद गरेको हो।
असोज ९, २०७८ शनिबार १५:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।