देशभर ७ हजार ८ सय ७४ पत्रिका, २ हजार ७ सय ६० अनलाइन
काठमाडाैंः प्रेस काउन्सिल नेपालले आफ्नाे ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदनमा मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८ सय ७४ रहेको जनाएकाे छ। आव ०७७÷७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या ७ सय ४४ रहेको उल्लेख छ।
प्रतिवेदनमा अर्धसाप्ताहिक ३९, साप्ताहिक २ हजार ९ सय ५६, पाक्षिक ४ सय ७६, मासिक २ हजार ३ सय ४७, द्वैमासिक ३ सय ८४, त्रैमासिक ६ सय ५०, चौमासिक ३९, अर्धवार्षिक ८७ र वार्षिकरूपमा प्रकाशित हुने अखबारको सङ्ख्या ९३ रहेको उल्लेख छ।
काउन्सिलका अनुसार, आर्थिक वर्ष २०७७÷७८ सम्ममा दैनिक ७ सय ५, अर्धसाप्ताहिक ३०, साप्ताहिक २ हजार ८ सय ५९, पाक्षिक ३ सय ९९, मासिक ५ सय ९२, द्वैमासिक ६०, त्रैमासिक एक सय ४ र वार्षिकलगायत अन्य ४० पत्रपत्रिका प्रकाशन भएको अभिलेख छ।
प्रादेशिकरूपमा पत्रपत्रिका दर्ता स्थितिको अध्ययनबाट बागमती प्रदेश पहिलो स्थानमा देखिएको छ। बागमतीमा २ हजार ६ सय ५७ पत्रपत्रिका दर्ता भएको छ। यस्तै मुगु र मनाङ जिल्लामा भने अझैसम्म कुनै पनि पत्रिका प्रकाशन भई दर्ता भएका छैनन्।
सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन भई दर्ता भएको जिल्ला काठमाडौं हो। आर्थिक वर्ष २०७७÷७८ सम्ममा काठमाडाैंमा २ हजार अखबार दर्ता छन्। दोस्रो धेरै दर्ता भएको जिल्ला पर्सा हो।
यस्तै साेही प्रतिवेदनअनुसार देशभर २ हजार ७ सय ६० अनलाइन काउन्सिलमा सूचीकरण भएकाे उल्लेख छ। पछिल्लो आर्थिक वर्षमा मात्रै पनि ६ सय २२ अनलाइन सञ्चारमाध्यम सूचीकरण भएका छन्।
असोज ९, २०७८ शनिबार १३:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।